अपाङ्गता भएका महिलाहरूलाई महिला हिंसाको विषयमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता

 असोज २०८०, काठमाडौँ

आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकारका लागि काम गर्दै आएको संस्था राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ- नेपाल ( निडवान ) ले असोज ५ गते शुक्रवार देखि ७ गते आइतबार सम्म ३ काठमाडौँमा आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूलाई महिला हिंसाको विषयमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।

७ वटै प्रदेका ३० जना विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूलाई समावेश गरेर आयोजना गरिएको उक्त ३ दिने प्रशिक्षक प्रशिक्षण तालिमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ- नेपालका सल्लाहकार तथा तालिम प्रशिक्षक दिव्य गुरुङले लैङ्गिक समानता, महिला विरुद्धको हिंसाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यस प्रस्तुतीकरणमा उहाँले लैङ्गिक समानता, लैङ्गिक सवाल, समानता, पुरुष र महिलामा हुने र विशेष गरी आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूमा हुने विभेद तथा हिंसका विषयमा जानकारी गराउँदै महिला हिंसा न्यूनीकरण तथा रोकथाम लागि राज्यले बनाएका ऐन कानुनको बारेमा पनि जानकारी गराउनु भयो ।

त्यसै गरी आयोजक संस्था राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ- नेपाल ( निडवान ) की निवर्तमान अध्यक्ष तथा कार्यकारी निर्देशक एवं पद्मकन्या क्याम्पसकी उपप्राध्यापक प्रतिमा गुरुङले आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूको हिंसा सम्बन्धी शब्दावलीको चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्दै भेदभाव र हिंसा, महिला विरुद्धको हिंसा, लैङ्गिकताको पहिचान लगायतका विषयमा पनि प्रस्ट पार्नु भयो । साथै उहाँले यो ३ दिने प्रशिक्षक प्रशिक्षण तालिममा सिकेका सीपहरूलाई आफ्नो क्षेत्रमा गएर सही उपयोग गर्नको लागि पनि आग्रह गर्नु भयो । यसै क्रममा उहाँले जुन सुकै हिंसा कुनै पनि समयमा हुन सक्ने भएकोले यस प्रति सचेत रहँदै भएका नीति नियमहरूलाई कार्यान्वयनका लागि र सम्बन्धित निकायको जिम्मेवारीका विषयमा पनि जानकार हुने पर्ने कुरामा जोड दिनु भएको थियो ।

यस ३ दिने तालिमको पहिलो दिन यसै संस्थाका राष्ट्रिय कार्यक्रम अधिकृत राम बहादुर माझीले आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलामा हुने हिंसा, लैङ्गिक आधारमा हुने हिंसाको बारेमा जानकारी गराउँदै महिला माथि हुने विभिन्न हिंसाका प्रकारको विषयमा पनि प्रस्ट पार्नु भएको थियो ।

तालिमको दोस्रो दिनको पहिलो चरणमा मानव अधिकारकर्मी प्रविन्द्र शाक्यले मानव अधिकारको बारेमा प्रस्ट पार्दै यसमा भएका ऐन, कानुन, तथा नीति नियमहरूको बारेमा पनि जानकारी गराउनु भयो । साथै उहाँले कुनै पनि हिंसाको विरुद्धमा नीति नियम अनुसार न्यायमा पहुँचका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।

त्यसै गरी सोही दिनको तालिमको दोस्रो चरणमा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले लैङ्गिक हिंसा विरुद्धको कानुनी व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा उहाँले समूह विभाजन गरी हिंसा हुनुको मुख्य कारण, समस्या तथा अवरोधहरूको पहिचान गर्ने र समाधानका विषयमा पनि छलफल गर्न लगाउनु भयो । साथै उहाँले पनि महिलाहरूको हक हित र अधिकारका लागि बनेका विभिन्न ऐन कानुनको विषयमा पनि जानकारी गराउनु भएको थियो ।

तालिमको तेस्रो दिन अर्थात् असोज ७ गते प्रशिक्षक तथा सहजकर्ता पूर्ण श्रेष्ठले महिला विरुद्धको सुरक्षा लेखाजोखाको विषयमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले सुरक्षा लेखा कहाँ र कसरी गर्ने, घटना व्यवस्थापनमा प्रभावित केन्द्रित अवधारणा र प्रयोग, सेवा प्रदायकहरूका कार्यहरू, लैङ्गिकतामा आधारित हिंसा तथा सहायता प्रणालीहरूको घटना व्यवस्थापन, प्रभावित केन्द्रित आधारका निर्देशक सिद्धान्तहरू, प्रभावितका अधिकार, सुरक्षा, गोपनीयता, सम्मान र स्वनिर्णय, अविभेद लगायतका विषयमा प्रस्ट पार्नु भयो ।

यो ३ दिने तालिममा ७ वटै प्रदेशबाट सहभागी हुनु भएका आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूले हिंसाको विषयमा धेरै कुराको जानकारी हुनुका साथै नीति नियम तथा ऐन कानुनका विषयमा पनि जानकारी भएको र आफ्नो क्षेत्रमा गएर यस तालिममा सिकेका कुराहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने बताउनु भएको थियो ।

तालिमको अन्तिम दिन राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निमी शेर्पाले प्रशिक्षकहरूलाई प्रमाण पत्र वितरण गर्दै अपाङ्गतालाई कमजोरीका रूपमा लिन नहुने, आफूलाई मनै देखि बलियो बनाउनु पर्ने, अवसरको खोजी गर्नुका साथै नेतृत्व तहमा पुग्न र सक्षम, निडर हुनु पर्ने भन्दै यो तालिममा सिकेको सीपलाई पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »