५ भदौ २०८०, काठमाडौँ
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) ले AIPP को सहकार्यमा आदिवासी जनजाति अपाङ्गता भएका युवा तथा महिलाहरूको प्रभावकारी वकालतको विषयमा हिजो राजधानीमा एक दिने कार्यशाला कार्यक्रमको आयोजना गर्योर । सो कार्यक्रममा स्वतन्त्र अनुसन्धानकर्ता कैलाश राईले आदिवासी, लैङ्गिकता, अपाङ्गताको विषयमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले सबै वर्ग तथा समुदायका अपाङ्गता भएका व्यक्तिहरूका साथै आदिवासी जनजाति अपाङ्गता भएका युवा तथा महिलाहरूको सवालहरूलाई राज्यका हरेक निकाय सम्म लैजानका लागि सबै निकायहरूले सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी रेडियो नेपालका पूर्व कार्यक्रम सञ्चालक तथा आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष अमर ध्वज लामाले अन्तरक्षेदिय दृष्टिकोणमा आदिवासी जनजाति अपाङ्गता भएका युवा र महिलाको कार्यशाला, नेतृत्व र अधिवक्ता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भयो । यसै क्रममा उहाँले नेतृत्व भनेको कुनै पनि विषयलाई सहज तरिकाले अगाडि बढाउन सकिने, सही बाटो देखाउने, चिनाउने सीप हो भन्दै आयाम, सीप र तालिम गरी ३ प्रकारको हुने बताउनु भयो । त्यसै गरी उहाँले नेतृत्वले मानवीय अगुवाइ गर्ने, मानिसलाई प्रभावित पार्ने र नेतृत्व गर्ने कुरालाई पनि प्रस्ट पार्नु भएको थियो ।
यस कार्यक्रममा आयोजक संस्था राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) का राष्ट्रिय कार्यक्रम संयोजक रामबहादुर माझीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूका अधिकारका लागि प्रभावकारी जनवकालतको विषयमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले पैरवी, जनवकालतको विषयमा पनि प्रस्ट पार्नु भएको थियो । साथै उहाँले जनवकालत सम्बन्धी तथ्य तथा मागहरू, जनवकालतका आधारभूत तत्त्वहरू तथा जनवकालतका गतिशील प्रक्रियाहरूको विषयमा पनि जानकारी गराउनु भयो ।
सो कार्यशालामा आदिवासी जनजातिका विभिन्न प्रकारका अपाङ्गता भएका युवाहरू तथा महिलाहरूको सहभागिता रहेको थियो भने सहभागीहरूले राज्यका सबै निकायहरूमा आदिवासी जनजाति अपाङ्गता भएका युवा तथा महिलाहरूका सवालहरूलाई संवोधन गर्दै अर्थपूर्ण सहभागिता गराउनु पर्ने कुरामा जोड दिएका थिए ।