प्रकाशित मिति : २०८० आश्विन ६ गते, शनिबार ०६:०१
अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरू मध्ये आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरू पनि पर्दछन् । अन्य नागरिकहरूको तुलनामा अपाङ्गता भएका महिला त्यसमा पनि आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरू अझै विभिन्न हिंसामा पर्ने सम्भावना अधिक देखिन्छ । किनकि उनीहरूको भाषा, संस्कृति,भेषभुषा बोलीचालीका साथै अपाङ्गता भएकै कारणले हिंसामा पर्ने गरेको देखिन्छ । आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूका विभिन्न हक हित र अधिकारका लागि राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ- नेपाल ( निडवान ) ले काम गर्दै आएको छ । यसै क्रममा हिजो असोज ५ गते शुक्रवार काठमाडौँमा ७ वटै प्रदेशका आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूलाई सहभागी गराएर महिला हिंसा न्यूनीकरणका सवालहरूलाई समावेश गर्दै ३ दिने प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सञ्चालन गरेको छ ।
यस तालिमको उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निमी शेर्पाले यस प्रशिक्षकका लागि प्रशिक्षण तालिममा महिला हिंसा न्यूनीकरणका विषयमा सिकाइएका सीपहरूलाई आ-आफ्नो ठाउँमा गएर सही सदुपयोग गर्नका लागि आग्रह गर्नु भयो । साथै उहाँले यस्ता तालिमहरूले महिला हिंसा न्यूनीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो ३ दिने तालिमको सफलताको कामना पनि व्यक्त गर्नु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष अनिता घिमिरेले अपाङ्गता भएकै कारण अधिकांश अपाङ्गता भएका महिलाहरूले विभिन्न हिंसा भोग्न परेको भन्दै यस तालिम पश्चात् तालिममा सिकेका सीपहरूको उपयोग गर्नका लागि आग्रह गर्नु भयो ।
सो कार्यक्रममा आयोजक संस्था राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ – नेपाल ( निडवान ) की अध्यक्ष तथा पद्मकन्या क्याम्पसकी उपप्राध्यापक प्रतिमा गुरुङले भाषा, संस्कृति तथा भेषभुषा कै आधारमा आदिवासी जनजातिका महिलाहरू र यसै भित्रका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूले विभिन्न हिंसा भोग्न परेको बताउँदै यो ३ दिने प्रशिक्षक प्रशिक्षण तालिमले हिंसा न्यूनीकरणका लागि ठुलो सहयोग गर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले यो तालिममा आएका आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूका सवालहरूलाई समावेश गरेर दस्तावेजिकरण (Documentary) गर्ने र महिला हिंसा न्यूनीकरणका लागि निरन्तर रूपमा काम गर्ने बताउनु भयो ।
उक्त ३ दिने तालिमको पहिलो दिन राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ- नेपालका सल्लाहकार तथा तालिम प्रशिक्षक दिव्य गुरुङले लैङ्गिक समानता, महिला विरुद्धको हिंसाका विषयमा प्रस्तुतीकरण गर्नु भयो भने यसै संस्थाका अध्यक्ष तथा पद्मकन्या क्याम्पसका उपप्राध्यापक प्रतिमा गुरुङले आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूका सवालहरूलाई समावेश गर्दै हिंसा सम्बन्धित शब्दावलीहरूको विषयमा प्रस्ट पार्नु भयो । साथै उहाँले लैङ्गिकताको पहिचान, भेदभाव र हिंसा, महिला विरुद्धको हिंसा लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
त्यसै गरी यसै संस्थाका राष्ट्रिय कार्यक्रम अधिकृत राम बहादुर माझीले यस तालिममा महिला हिंसा न्यूनीकरणका विषयमा सिकेका कुराहरूलाई आफ्नो क्षेत्रमा गएर सही सदुपयोग गर्न सकुन्, हिंसा सम्बन्धी जानकारी होस् र आफू पनि सुरक्षित हुँदै अरूलाई पनि सुरक्षित राख्न सक्षम हुन भन्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको भन्दै लैङ्गिक हिंसा, भ्रम र यथार्थ, आदिवासी महिला विरुद्धको हिंसा, लैङ्गिक आधारमा हुने हिंसा, हिंसाका प्रकाहरुको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।